काठमाडौं, बैशाख १९ – फार्मेसी विषय अध्ययनरत विद्यार्थीहरूले ‘स्वतन्त्र फार्मेसी युवा समूह’को अगुवाइमा बिहीबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। उनीहरूले फार्मेसी क्षेत्रमा विद्यमान संरचनागत बेथिति, न्यून पारिश्रमिक र बेरोजगारी जस्ता समस्याहरू उठाउँदै सरकारसँग १२ बुँदे मागपत्र सार्वजनिक गरेका छन्।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूका अनुसार स्थानीय तहहरूले करारमा राखेका अप्रशिक्षित जनशक्ति हटाएर योग्यता प्राप्त दक्ष फार्मेसी जनशक्तिको स्थायी दरबन्दी खोलिनु अत्यावश्यक छ। साथै, न्यूनतम पारिश्रमिकसम्म नपुग्ने गरी फार्मेसिस्टहरूलाई शोषण गरिँदै आएको भन्दै सरकारलाई तुरुन्त हस्तक्षेप गर्न उनीहरूले आग्रह गरेका छन्।
न्यून पारिश्रमिक र लामो ड्युटी समय
फार्मेसी विद्यार्थी जीवन दाहालले कतिपय फार्मेसिस्टहरू १२–१४ हजार रुपैयाँ पारिश्रमिकमा काम गर्न बाध्य रहेको उल्लेख गर्दै, “कम्तीमा सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिकको कार्यान्वयन गरिनुपर्छ,” भने। उनीहरूले यसअघि नै नेपाल फर्मास्युटिकल एसोसिएसनमार्फत आफ्ना मागहरू सम्बन्धित निकायमा जानकारी गराइसकेका छन्।
नेपाल फार्मेसी परिषद्का अनुसार हाल देशभर ७,४३० जना रजिष्ट्रर्ड फार्मेसिस्ट र १४,५०७ जना सहायक फार्मेसिस्ट कार्यरत छन्। तर, पढाइ सकिएपछि पनि रोजगार नपाउने वा अत्यन्त न्यून तलबमा लामो समयसम्म काम गर्नुपर्ने बाध्यता रहेको प्रदर्शनकारी रजिष्ट्रर्ड फार्मेसिस्ट जीवन शाहीले बताए।
“अहिले पनि धेरै फार्मेसिस्टहरू ८–१२ हजार रुपैयाँको तलबमा १४ घण्टासम्म ड्युटी गरिरहेका छन्,” शाहीले भने, “अन्य स्वास्थ्य क्षेत्रका कर्मचारीलाई जस्तो राज्यले हेरेको छ, हामीलाई पनि सम्मान र अवसर दिनुपर्छ।”
१२ बुँदे मागपत्रको प्रमुख बुँदाहरू
प्रदर्शनकारीहरूले सार्वजनिक गरेको १२ बुँदे मागपत्रमा उल्लेख गरिएका मुख्य बुँदाहरू यस्ता छन्:
- प्रत्येक स्थानीय तहमा कम्तिमा एक जना फार्मेसिस्टको अनिवार्य स्थायी दरबन्दी खोलिनु पर्छ।
- हरेक वडा स्वास्थ्य संस्थामा एक जना फार्मेसी सहायकको स्थायी दरबन्दी अनिवार्य गरिनु पर्छ।
- सरकारी, निजी तथा सामुदायिक फार्मेसीमा कार्यरत फार्मेसिस्ट तथा सहायकलाई स्वास्थ्य सेवा तह ५ र ७ अनुसारको पारिश्रमिक दिनु पर्छ।
- कार्य समय (ड्युटी आवर) अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्धारण गरिनुपर्छ।
- फार्मेसिस्ट वा सहायक फार्मेसिस्टको उपस्थितिबिनै सञ्चालन भइरहेका औषधि पसलहरू तत्काल बन्द गरिनुपर्छ।
- संघीय संरचना अनुसार औषधि व्यवस्था विभाग (DDA) र राष्ट्रिय औषधि प्रयोगशाला (NML) सातै प्रदेशमा स्थापना गरिनुपर्छ।
- केन्द्र र प्रदेश लोक सेवा आयोगमार्फत विज्ञापन गरी दक्ष जनशक्ति नियुक्त गरिनुपर्छ, स्थानीय तहले राखेका करारका सम्पूर्ण अप्रशिक्षित जनशक्ति हटाइनु पर्छ।
- खाद्यपूरक (सप्लिमेन्ट) सामग्रीहरूमा कडाइ गरिनु पर्छ, गुणस्तरहीन तथा अनावश्यक बिक्री वितरण रोक्न आवश्यक व्यवस्था गरिनु पर्छ।
- नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधिहरू सबै सरकारी अस्पताल र स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत अनिवार्य रूपमा उपलब्ध गराइनु पर्छ।
- बजार अनुगमनका लागि DDA मा र औषधिको गुणस्तर मापनका लागि NML मा आवश्यक जनशक्ति थप गरिनु पर्छ।
- नेपाल फार्मेसी परिषद्ले वार्षिक कार्य तालिका (क्यालेन्डर) तयार गरी परीक्षा, पाठ्यक्रम, कलेज संरचना, शिक्षकलगायत जिम्मेवारीहरू प्रभावकारी रूपमा पूरा गर्नुपर्छ।
- विविध: फार्मेसी क्षेत्रका अन्य समस्याहरूको समाधानका लागि सम्बन्धित निकायहरूले समन्वय गर्नुपर्छ।
अस्पताल फार्मेसी सेवा निर्देशिका २०७८ पालना गरिनुपर्ने माग
विद्यार्थीहरूले अस्पताल फार्मेसी सेवा निर्देशिका २०७८ को पनि प्रभावकारी कार्यान्वयन हुन नसकेकोमा गम्भीर आपत्ति जनाएका छन्। उनीहरूको भनाइमा उक्त निर्देशिका लागू भए फार्मेसी सेवाको गुणस्तर, कार्यक्षमता र जनविश्वासमा अभिवृद्धि हुने थियो।
निष्कर्ष
फार्मेसी अध्ययनरत विद्यार्थीहरूको यो आन्दोलनले नेपालमा फार्मेसी पेशाको वास्तविक अवस्था उजागर गरेको छ। योग्य जनशक्तिको उपयोग नगरिनु, न्यून पारिश्रमिक, करार प्रणालीको दुरुपयोग, र सरकारी नीति कार्यान्वयनमा लापरवाही जस्ता समस्याहरू तत्काल सम्बोधन नभए फार्मेसी क्षेत्रको विकासमा गम्भीर असर पर्नेछ।
स्वतन्त्र फार्मेसी युवा समूहले शान्तिपूर्ण रूपमा उठाएका मागहरूलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता छ। स्वास्थ्य सेवा प्रणालीको अभिन्न अङ्गका रूपमा फार्मेसिस्टहरूको उचित प्रतिनिधित्व, सम्मान र अवसर सुनिश्चित गरिएमा मात्रै समावेशी र दिगो स्वास्थ्य सेवा प्रणाली सम्भव हुनेछ।
Pharma Solution Nepal ले यस्तो विद्यार्थी नेतृत्वमा गरिएको आन्दोलनको स्वागत गर्दछ र फार्मेसी पेशा सुधारका अभियानमा सदैव साथ दिने प्रतिबद्धता प्रकट गर्दछ।
Discover more from PHARMA SOLUTION NEPAL
Subscribe to get the latest posts sent to your email.
Add Comment